वेबटिभी खबर
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरिसकेको छ ।
कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईंसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो । सहायक प्रशिक्षक राई नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीका मुख्य प्रशिक्षक हुन् ।
यस्तै डंगोल ‘ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर प्रशिक्षक हुन् । एन्फाको २६ साउनको बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा भएका बेला बैठकले हुमागाईलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेको थियो ।
यसअघि अब्दुल्लाहसँग किरण श्रेष्ठले सहायक प्रशिक्षक तथा विकास मल्लले गोलकिपर प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा छन् ।
त्यसयता उनले २६ खेलाडीलाई बंगलादेशबिरुद्द प्रशिक्षणका लागि बोलाउन एन्फा सचिवालयलाई अनुरोध गरेका थिए । तर एन्फाले विवादमा तानिएका प्रशिक्षक अब्दुल्लाहको विकल्प खोजेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij