वेबटिभी खबर
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारलाई आन्दोलनको चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकतर्फीरूपमा संघीय शिक्षा ऐनको मस्यौदा अघि बढाएको भन्दै महासंघले बुधबार विज्ञप्ति जारी गरेर आन्दोलनको चेतावनी दिएको हो ।
‘मन्त्रालयबाट अख्तियार गरिएको शिक्षक–कर्मचारी विरोधी रवैयालाई निस्तेज गर्न तथा विगतका सबै सहमतिलाई अक्षरशः लागू गराउन चाँडै नयाँ शिराबाट निर्णायक आन्दोलनबाट अघि बढ्ने कुरा समेत उद्घोष गर्दछौं,’ महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
शिक्षा ऐनको प्रस्तावित मस्यौदामाथि मन्त्रालयले मुख्य सरोकार पक्ष शिक्षक महासंघसँग छलफल नगरी अघि बढाएको महासंघको भनाइ छ ।
२०७८ फागुन ९ गते गरिएको ५१ बुँदे सहमतिका अधिकांश बुँदाहरू नयाँ बन्ने शिक्षा ऐनमा अनिवार्य समावेश हुनुपर्ने बताउँदै शिक्षा मन्त्रालयबाट छलछाम तथा षडयन्त्रपूर्ण कार्य भएको महासंघले बताएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij