वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहने बताएका छन् ।
सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा भएको १०९औँ बीपी जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नहुने उल्लेख गरे ।
आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहेका महामन्त्री शर्माले भने, ‘घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्ने छ, कोही अझै शिक्षाबाट बञ्चित किन ? ‘ड्रपआउट’ कहिलेसम्म ? उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता किन ? विकल्प के र कसरी ? घोषणापत्र त्यसमा प्रबिस्ट हुनेछ ।’
कांग्रेसको घोषणापत्र निर्माणकार्य अब छिट्टै सुरु गर्ने जानकारी गराउँदै उनले पार्टीको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने संकल्प घोषणापत्रले बोक्ने बताए । स्थापनाकालमा बीपी कोइरालाले लेखेकाे दस्तावेज, वि.सं. २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजहरूको गहिरो अध्ययन अबको घोषणापत्र निर्माण गरिने महामन्त्री शर्माले उल्लेख गरे ।
‘बीपीले परिकल्पना गर्नुभएको नेपाल र आजको नेपाली युवाको भावनालाई एकाकार गरेर व्यक्ति या दलको मात्र होइन, कांग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने प्रयत्न गर्नेछ, त्यसो गरिरहँदा ५० लाख बढीको सङ्ख्यामा विदेशमा रहेकोे ‘नेपाल बाहिरको नेपाल’को भावनालाई समेट्ने छ’, महामन्त्री शर्माले भने ।
भारत र चीन दुवै छिमेकी मित्रराष्ट्रको बढ्दो आर्थिक उचाइबाट लाभान्वित हुँदै ‘छिमेकीको आर्थिक गति सँगसँगै अघि बढ्ने’ दृष्टि, संकल्प र सुस्पष्ट योजना जो जरुरी छ, त्यसबारेमा पनि घोषणापत्रले प्रकाश पार्ने उनले जानकारी गराए । शासन प्रणाली सही भएर पनि नागरिकलाई व्यापक विश्वासमा लिन भइरहेका कमजोरीको पहिचान गरेर, राष्ट्र निर्माणको महाअभियानमा ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ भन्ने युवा भावनाको लहर घोषणापत्रको अन्तर्वस्तुमा समाहित गरिने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij