वेबटिभी खबर
काभ्रे । कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा (९३) ले दिएको अधिकार प्रयोग गरी आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताए ।
यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा सङ्क्रमण दर बढ्न थालेपछि समय थप गर्नुपरेको उनले बताए ।
निषेधाज्ञाको समयमा यसअघि निर्धारण गरिएको समयबाहेक कार्यालय सञ्चालनको हकमा थप कडाइ गरिएको छ ।
सो समयमा सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थाहरुको हकमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा लघुवित्त कम्पनी र बिमा समितिबाट इजाजतप्राप्त बिमा कम्पनीहरुले माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij