वेबटिभी खबर
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन् ।
राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनको भनाइ थियो ।
बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाए ।
उनले भने, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं । जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो । त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ सबै स्वार्थ केन्द्रित छन् । जुन देश भूराजनीतिक रूपले संवेदनशील छ । कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने ? यदि राजनीति गर्ने हो भने एउटा स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो । देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो । समाज विकृत भयो । देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो । संघीयता आर्थिक रूपमा मात्रै होइन, राजनीतिक रूपमा पनि धान्न सकिँदैन । भौगोलिक रूपमा त झन् संघीयता धान्ने नसकिने गम्भिर विषय हो ।’
मिश्रले वर्षौंदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij