वेबटिभी खबर
काठमाडौं । म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् ।
स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ । १२० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् ।
पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ । धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताए ।
उनले भने, ‘अन्य आम्दानीको स्रोत छैन, गुजारा चलाउने आधार केराखेती हो । केराखेतीले खबराका बासिन्दाको जीवनस्तरमा धेरै परिवर्तन ल्याएको छ । यहाँको मुख्य आम्दानीको स्रोत केरा नै हो ।’
वर्षमा १० पाथी कोदो फल्ने बारी र दुई मुरी धान उत्पादन हुने खेतमा लगाइएकाे केराबाट मासिक पन्ध्रदेखि २५ हजारसम्म आम्दानी हुने सापकोटाले बताए । एक जनाले दुईदेखि २० रोपनी जग्गामा केरा लगाएका छन् ।
केराखेतीबाट मासिक न्युनतम १०/१२ हजारदेखि ५० हजारभन्दा बढी कमाउने कृषक छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ ।
घरव्यवहार चलाएर बचेको पैसाले कच्ची घरलाई पक्की बनाएको स्थानीय कृषक हिरा कुँवरले बताए । उनले भने, ‘खर हुने पाखो र खेती लगाउने खेतबारीमा अहिले केरा फलाएका छौँ । दश वर्षको खेतीलाई एक वर्षको केराको आम्दानीले जित्छ ।’
दश वर्षदेखि केरा खेती गर्दै आएका कुँवरले खबरामा पक्की घर बनाएका छन् । गाउँमै परम्परागत खेती किसानी गर्दै आएकादेखि विदेशबाट फर्किएका युवाहरूले केराखेतीलाई आम्दानीको स्रोत बनाएका छन् ।
उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबरामा केराखेती फस्टाएको हो । किसानहरूले हजारी जातको केरा खेती गरेका छन् । बिरूवा (गाना) रोपेको दुई वर्षदेखि उत्पादन लिन सकिन्छ ।
एक घरी केरामा एक हजार वटासम्म कोसा लाग्ने गर्छ । धेरै पटक मलजल, खनजोत र गोडमेल गर्नु नपर्ने हुँदा केराखेती अन्य फलफूलको तुलनामा सजिलो भएको कृषकको अनुभव छ । केराको घारीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
१२ कोसा काँचो केरालाई ८० देखि १०० रूपैयाँ र पकाउँदा एक सयदेखि १२० का दरले बिक्री हुने गरेको उनीहरूकाे भनाइ छ । वि.सं २०५८ मा मानबहादुर थापाले काठमाडौंबाट भित्र्याएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ ।
उनले भने, ‘तीन वटा बिरूवा ल्याएको थिए । आफ्नो जग्गा र गाउँमा पुर्याएर म्याग्दीको सिमलचौर, भुरुङ तातोपानीसम्म र पर्वतको नाग्लीवाङ, शालीजा र बागलुङको तितौरेमा बिरूवा लगेका कृषकले राम्रै आम्दानी गरेका छन । एकै घारीबाट थोरैमा १ हजार २०० देखि बढीमा ४ हजार २०० रूपैयाँसम्म आम्दानी हुने भएकाले फाइदा हुन्छ ।’
अन्य फलफूलको तुलनामा सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले केराखेती कृषकको रोजाइमा परेको हो । जिल्लामै उत्पादन हुन थालेपछि बेनीमा बाहिरबाट केरा आयात घट्न थालेको छ ।
बेनीको मल्लाजी फलफूल पसलका सञ्चालक श्रीकृष्ण सुवेदीले पहिलेको तुलनामा केरा आयात घटेको बताए । उनले भने, ‘खबरा, बगरफाँट, काउलेगौडा, रिसिनचौतारीका कृषकले केरा बेच्न ल्याउँछन् । ताजा र स्वस्थ केरा यहीँ पाइने भएपछि बाहिरबाट ल्याउन कम भएको छ ।’ खबरा म्याग्दी जिल्लामै सबैभन्दा धेरै केरा खेती हुने गाउँ हो ।
सडक भएपनि यातायात सेवा सहज नहुँदा केरा बेच्न डोकोमा बोकेर बजारमा जानुपर्ने, केराको साना कोसा बिक्री नहुने र कोसामा दाग देखिने समस्या रहेको अगुवा कृषक सोवित शर्माले बताए ।
बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले दुई वर्षअघि बिरूवा वितरण गरेको थियो । रोग भित्रिन नदिनका लागि बगैँचा व्यवस्थापन र सरसफाइसम्बन्धी तालिम आवश्यक रहेको कृषक शर्माले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खबरालाई ब्लकमा समावेश गरेर केराखेती विशेष कार्यक्रम सञ्चालन गर्न माग गरिएको उनले बताए । ठूला कोसा बिक्री भए पनि साना कोसा बिक्री नहुने समस्या छ । बिक्री नहुने साना कोसा भएका केरालाई अन्य परिकार बनाउने सीपको आवश्यकता छ ।
दर्जन (प्रति १२ कोसा)को विकल्पमा तौलको आधारमा मूल्य निर्धारण गर्न पनि खबराका कृषकले माग गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij