वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।
यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ ।
सञ्चालन हुँदै आएको महेन्द्रनगरस्थित तरकारी बजार (सब्जीमण्डी) बुधबारदेखि बन्द गरिएको छ । तरकारी बजारमा निकै भिडभाड हुन थालेपछि कोरोनाको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
तरकारी तथा फलफूल आपूर्तिका लागि स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी हरेक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म घुम्ती पसल सञ्चालन गर्न सकिने भएको छ ।
स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थसम्बन्धी पसल व्यवसायबाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न नपाइने जारी नयाँ आदेशमा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij