वेबटिभी खबर
पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको स्वर्ण सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
पोखरा रंगाशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै एपिएफले स्वर्ण जितेको हो ।
खेलमा एपिएफले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेकामा दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपिएफले २७-२५ ले बाजी मार्यो । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन ।
अन्ततः एपिएफले तेस्रो सेट पनि २६-२४ जित्दा आर्मीले रजतमा चित्त बुझायो । एपिएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभसमेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए ।
उनले भने, ‘हरेकजसो प्रतियोगितामा पुलिस वा आर्मीसँग नै फाइनलमा भिड्थ्यौं । आर्मीको खेल नराम्रो भन्न मिल्दैन । हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जीत हात पार्न सफल भयौं ।’
आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपिएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो ।
यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपिएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।
कास्य पदकका लागि आज भएको प्रतिस्पर्धामा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट २६-२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो ।
पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५-१४ र २५-१८ ले आफ्नो पक्षमा पारेर कास्य हात पार्यो । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij