वेबटिभी खबर
काठमाडौं । निर्वाचन आचारसंहिताअनुसार बिहीबारदेखि मंसिर १ सम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएपछि दलका प्रमुख नेताहरू चुनावी प्रचारमा निस्केका छन् ।
दलका शीर्ष नेताहरू चुनावी प्रचारका लागि देश दौडाहामा निस्कन थालेका हुन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै सुदूरपश्चिम प्रदेश गएका छन् । उनले सरकारी स्रोत–साधन प्रयोग नगर्ने गरी धनगढी हुँदै डडेलधुरा जान निर्वाचन आयोगबाट अनुमति लिएका छन् ।
एमाले अध्यक्ष केपी ओली चुनावी सभाहरूलाई सम्बोधन गर्न शुक्रबार उपत्यकाबाहिर जाँदै छन् । उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ । ओलीले मुख्य प्रचारकका रूपमा हेलिकोप्टर प्रयोग गर्न आयोगबाट बुधबार अनुमति लिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित छन् ।
निर्वाचन प्रचारको दोस्रो चरण बिहीबारदेखि सुरु हुने भएपछि आयोगले दलहरूलाई आचारसंहिता पालनामा ध्यान दिन पुनः आग्रह गरेको छ ।
बिहीबारदेखि आमसभा, कोणसभा गर्न पाउने भएपछि आयोगले उम्मेदवारलाई आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij