वेबटिभी खबर
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई समेत शेयर बजारमा प्रवेश गराउने उद्देश्यका साथ ‘धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका, २०७९’ लागू गरेको छ ।
बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई कुनै साधारण शेयर (आइपीओ)मा सहजै लगानी गर्न सकून भन्ने उद्देश्यका साथ आरक्षणको व्यवस्था गरेको हो । यो व्यवस्था अहिलेदेखि नै लागू हुनेछ ।
विप्रेषण औपचारिक माध्यमबाट नेपाल पठाउन प्रेरित गर्ने उद्देश्यले आइपीओमा आरक्षणको व्यवस्था गरिएको हो । नेपालमा पछिल्लो समय विदेशी मुद्रा सञ्चिति कम हुँदै जाँदा वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपीओमा आरक्षणको व्यवस्था गर्न सकियो भने औपचारिक प्रणालीबाट आउने विप्रेषण बढ्ने अनुमान गरिएको छ ।
विप्रेषणबाट प्राप्त भएको पैसा उपभोग्य वस्तुको खरिदमा मात्रै प्रयोग हुने र जताबाट आएको हो उतै जान थालेपछि सरकारले यो व्यवस्था गरिएको हो ।
विप्रेषणबाट प्राप्त भएको पैसा उत्पादनमूलक क्षेत्रमा प्रयोग होस् र मुलुकको अर्थतन्त्र निर्माणमा प्रयोग होस् भन्ने उद्देश्यका साथ अर्थमन्त्रालयको पहलमा बोर्डले त्यस्तो प्रबन्ध गरेको हो ।
नयाँ व्यवस्थाअनुसार विदेशमा बसी रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशनमा सहभागी गराउनुपर्नेछ । संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धिन निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारीमा रहेका नेपालीका लागि अनिवार्यरूपमा छुट्याउनु पर्नेछ ।
शेयरमा आवेदन दिँदा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण खातामार्फत् भुक्तानी गर्नुपर्नेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्काशन गर्नुअगावै १५ दिनको अवधि तोकी आह्वानपत्र सार्वजनिक गर्नुपर्ने प्रावधान बोर्डले राखेको छ ।
शेयरमा आवेदन दिँदा विप्रेषण बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार बराबरको नेपाली रूपैयाँ सम्बन्धित व्यक्तिले जम्मा गरेको हुनुपर्नेछ ।
विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकले हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाटै ग्राहकलाई सिआरएन नम्बरसमेत उपलब्ध गराउनुपर्नेछ ।
नेपाल राष्ट्र बैंकको विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको छ ।
चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमवल ८ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव ३ प्रतिशतले वृद्धि भई एक अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५ दशमलव ३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ) लिने नेपालीको संख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij