वेबटिभी खबर
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै संघर्ष गर्ने निर्णय गरेको छ ।
हालै कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको निर्णयका बारेमा जानकारी गराउन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले ४० जना नेता तथा कार्यकर्ता अझै पनि जेलमा रहेको, सर्यौं मुद्दाहरू खारेज नभएको र सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै संघर्ष गर्ने जनाएको हो ।
त्यस्तै आगामी दिनमा राष्ट्रिय स्वाधीनताका साथै जनताको राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने नेकपाले जनाएको छ । महंगी र चर्को ब्याजदरविरूद्ध फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने नेकपाले जनाएको छ ।
बैठकले विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने निर्णय गरेको नेकपा महासचिव चन्दले जानकारी दिए । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि एकता अभियान अघि बढाउन लागिएको विप्लवले बताए ।
अहिले विश्वमा नै पूँजीवादी राजनीति असफल भइसकेको अवस्थामा वैज्ञानिक समाजवादको आवश्यकता महसुस हुँदै गएको उनले बताए । उनले अहिलेको व्यवस्थाले मुलुकलाई असफलतातर्फ लगिरहेको भन्दै नेपाली जनताले एकदिन व्यवस्था नै परिवर्तन गर्ने दाबी गरे ।
नेकपाले जनआधारित पार्टी र जनआधारित नेता तथा कार्यकर्ता भन्ने नीति पारित गरेको छ भने आर्थिक क्षेत्रमा महाधिवेशनले संश्लेषण गरेको एकीकृत स्वामित्व प्रणालीमा आधारित भएर आत्मनिर्भर उत्पादन र राष्ट्रिय उद्योगी व्यवसायीहरूसँगको सहकार्यलाई लागु गर्ने निर्णय गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij