वेबटिभी खबर
डोटी । भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका-१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने भन्दै त्यहाँका नागरिक निकै खुशी भएका छन् ।
गाउँमा प्रहरी चौकी नभएका कारण उक्त गाउँमा विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या भएको जानकारी पाएपछि अहिले नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
भौगोलिक हिसाबले जिल्ला सदरमुकाम सिलगढीबाट निकै टाढा रहेको बझाङ र बैतडीको सिमानामा पर्ने छपालीमा लामो प्रयासपछि अस्थायी प्रहरी चौकी स्थापना गरिएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।
हालै स्थापना गरिएको उक्त प्रहरी चौकीका प्रहरीले दत्तचित्त भएर निष्पक्षरूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्र्ने उनले जानकारी दिए । अब वडामा शान्ति सुरक्षा अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्य तथा स्थानीयवासी धनबहादुर नेपालीले बताए ।
उक्त वडामा सामान्य झैझगडाका घटना भए पनि नागरिकले कम्तीमा तीन घण्टाको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय मौवा नगदरदहमा गएर उजुरी गर्दै आएको र अब उक्त समस्या समाधान भएको अर्का स्थानीयवासी रोहितबहादुर देउवाले बताए ।
जिल्लामा पछिल्ला केही महिनायता अस्थायी प्रहरी चौकी स्थापना गर्ने क्रम बढेको छ । हालसम्म जिल्लाका गड्सेरा, खड्यौंली, छपाली, तल्कोटलगायतका क्षेत्रमा प्रहरीले नागरिकको मागबमोजिम अस्थायी प्रहरी चौकी स्थापना गरेको छ ।
नयाँ स्थापना भएका प्रहरी चौकीमा प्रहरीले नागरिकको शान्ति सुरक्षादेखि अन्य काम तथा मुद्दाहरू गाउँमै सबैको रोहवरमा मिलापत्र गर्दै आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सामान्य खालका मुद्दा गाउँमै मिलापत्र हुन थालेपछि जिल्ला प्रहरी कार्यालयसम्म नागरिकले न्यायका लागि धाउनुपर्ने समस्यासमेत हटेको प्रहरीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij