वेबटिभी खबर
रोम । इटालीमा सिसिलीको माफिया समूह कोसा नोस्ट्राका माफिया बोस जियोभानी ब्रुस्कालाई जेलबाट रिहा भएका छन् । ६४ वर्षका ब्रुस्काले गरेका जघन्य अपराधका सूचीमा एक बच्चालाई तेजाबमा डुबाएको घटना पनि सामेल छ ।
जनताको हत्यारा भनेर चिनिने ब्रुस्काले १०० भन्दा बढी हत्यामा आफ्नो भूमिका स्वीकारेका छन् । उनले इटालीमा माफियाविरुद्ध धेरै मुद्दा लडेका मुख्य न्यायाधीश जोभानी फाल्कनको हत्यामा पनि आफ्लो संलग्नता रहेको स्वीकारेका थिए ।
ब्रुस्काको रिहाइपछि पीडित परिवारले आक्रोश र निराशा व्यक्त गरेका छन् । अब ब्रुस्का चार बर्षका लागि प्यारोलमा बाहिर हुनेछन् ।
ब्रुस्काले गरेका हत्यामध्ये न्यायाधीशकाे हत्याले इटाली हल्लाएकाे थियाे । सन् १९९२ मा इटालियन माफियाविरूद्ध अनुसन्धानका प्रमुख अन्वेषक न्यायाधीश जोभानी फाल्कन भएको गाडी बमले उडाइदिए । उक्त विस्फाेटमा प्रहरी अधिकारीसहित पाँच जनाकाे ज्यान गएकाे थियाे ।
यो देशको सबैभन्दा कुख्यात हत्यामा रेकर्ड गरिएको थियो । यस आक्रमणको दुई महिनापछि फाल्कनका सहयोगी पाओलो बोर्सेलिनोको पनि हत्या गरियो । यस आक्रमणपछि इटालीमा माफियाविरूद्ध कडा कानूनहरू बनाइयाे ।
सन् १९९६ मा पक्राउ परेपछि ब्रुस्का सजाय कम गराउने उद्देश्यले सरकारी साक्षी बने । उनले सन् १९८० देखि १९९० को दशकमा भएका सबै माफिया आक्रमणका जिम्मेवार अपराधीलाई पक्राउ गर्न अनुसन्धानकर्तालाई सहयोग गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij