वेबटिभी खबर
रियाद । साउदी अरबको हज मन्त्रालयले मुस्लिम महिलालाई पुरुष अभिभावकविना नै वार्षिक हज यात्रामा जान सक्ने घोषणा गरेको छ । मन्त्रालयले एक इन्फोग्राफिकमा हज गर्न इच्छुक व्यक्तिले व्यक्तिगत रुपमा नाम दर्ता गर्नुपर्ने र महिलाहरुले पुरुष अभिभावक विना पनि दर्ता गर्न पाउने बताएको हो ।
यसरी हजमा जाने महिलाको उमेर १८ वर्षदेखि ६५ वर्षसम्म हुनुपर्नेछ । साथै कम्तिमा १४ दिन अगाडि खोपको अन्तिम डोज लगाएका र कोरोना संक्रमणबाट निको भइसकेका व्यक्ति मात्र हजमा जान पाउनेछन् ।
हजमा जाने व्यक्तिले १३ देखि २३ जुनसम्म नाम दर्ता गराउन सक्नेछन् । हजका लागि आवेदन छनौट प्रक्रिया २५ जुनदेखि स्वास्थ्य र नियामक मापदण्डमा आधारित हुनेछ । हज यात्रा जुलाईमा हुनेछ ।
कोरोना भाइरसको महामारीका कारण यस वर्ष साउदी अरबका नागरिकमात्रै हजमा जान पाउनेछन् । शनिबार हज तथा उमरा मन्त्रालयले कोरोना भाइरस महमारीका कारण यस वर्ष साउदी अरब बस्ने व्यक्तिका लागि हजको यात्रा सीमित गर्दै यसको संख्या ६० हजारसम्म राख्ने निर्णय गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij