Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नगरपालिकाले चासो नदिँदा त्यतिकै थन्किए घुम्ती शौचालय

नगरपालिकाले चासो नदिँदा त्यतिकै थन्किए घुम्ती शौचालय

  • 159
    SHARES
  • नगरपालिकाले चासो नदिँदा त्यतिकै थन्किए घुम्ती शौचालय

    रौतडट । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ ।

    शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन । नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन ।

    यहाँ दिनहुँ ठूलो संख्यामा सवारी साधन र मानिसको आवतजावत हुन्छ । उनीहरूलाई शौच गर्न निकै समस्या पर्दै आएको छ । चन्द्रनिगाहपुरको मुख्य चोक क्षेत्र पूर्व-पश्चिम राजमार्ग भएर चल्ने बसका यात्रु तथा मालबाहक ट्रक चालकका लागि खाना खाने स्थलका रूपमा चिनिन्छ ।

    जिल्लामा नमुनाको रूपमा यसअघिका नगरप्रमुख रामचन्द्र चौधरीका पालामा १० लाखको लागतमा शौचालय ल्याइएको थियो । ती शौचालय अहिले पनि शहीद पार्क र नगरपालिका कार्यालय परिसरमा त्यतिकै थन्किएका छन ।

    अहिले ती शौचालयका सञ्चालन नहुँदा सबै महत्वपूर्ण सामान काम नलाग्ने भइसकेका छन । नगरपालिकाकै मुटु मानिने वडा नं ४को मुख्य चोकमा सार्वजनिक शौचालय बनाउन जमिन अभाव भएकाले नगरपालिकाले दुईवटा घुम्ती शौचालय खरिद अधिक भीड हुने यहाँको दुई स्थानमा सञ्चालमा ल्याउन खोजेको थियो ।

    कोरोना संक्रमणको महामारीका बेला एउटा चाँदी खोला छेउको शहीद पार्कमा लगिएको र अर्कोलाई चोकमा राखिएको थियो । नगरपालिका घोषणा नहुँदै तत्कालीन चन्द्रनिगाहपुर गाविसले चोकको दक्षिण क्षेत्रमा बग्ने पैनीमा शौचालय भवन निर्माण गर्न थालेको थियो ।

    उतिबेला शौचालय बनाउने ठाउँका विषयमा ठूलै विवाद भएपछि सार्वजनिक शौचालय बन्न नसकेको स्थानीय समाजसेवी राजु तिवारीले बताए । उनका अनुसार त्यसपछि यस क्षेत्रमा शौचालय निर्माणका लागि कसैले पनि पहल गरेनन् ।

    नगरपालिकाले चोकको पश्चिमतर्फ जंगल छेउमा सार्वजनिक शौचालय बनाएको भए पनि त्योसमेत प्रयोगविहीन छ । अहिले पनि चोकमा मानिस शौच गर्न नपाएर छटपटाउने गरेको देखिन्छ ।

    पैदलयात्री शौचालय खोज्दै होटल जान बाध्य भए पनि उनीहरूलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । घुम्ती शौचालय चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीयवासीको जोड छ।

    नगरपालिकाले लाखौँ लगानीमा ल्याएको त्यस्ता घुम्ती शौचालय व्यवस्थापन र सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती हुँदै आए पनि नगरपालिकाको ध्यान जानसकेको छैनन । घुम्ती शौचालय सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बताए ।

    शौचालयका केही पाटपुर्जामा समस्या देखिएको जनाउँदै उनले घुम्ती शौचालय सानो र साँघुरोसमेत रहेको जनाउँदै चाँडै नै ‘मोडिफाइर्’ गरी सञ्चालनमा ल्याउने जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij