Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

किसानलाई उन्नत जातका घाँसका बिरूवा वितरण

किसानलाई उन्नत जातका घाँसका बिरूवा वितरण

  • 185
    SHARES
  • किसानलाई उन्नत जातका घाँसका बिरूवा वितरण

    पाल्पा । पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँसका बिरूवा वितरण गरेको छ । नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरूवा वितरण गरेको हो ।

    नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएका स्वावलम्वन समूह र युवा समूह गरी ५१ समूहलाई घाँसका बिरूवा वितरण गरेको हो । गुल्मीको इस्माबाट बिरूवा खरिद गरी नेपियर (रातो र सेतो), राइ खनियु, बडहर, किम्बु जातका घाँस समूहका सदस्यलाई उपलब्ध गराइएको छ ।

    ढुवानीसहित करिब छ लाखको बिरूवा खरिद गरेर समूहको मागअनुसार वितरण गरिएको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संयोजक सञ्जु परियारले बताइन् ।

    पशुपालनलाई व्यवस्थित र व्यवसायी बनाएर आत्मनिर्भरतर्फ किसानलाई अगाडि बढाउन नगर सरकारले उन्नत जातका घाँसका बीउ वितरण कार्यक्रम गरेको हो । निःशुल्क घाँसको बीउ पाएपछि किसान खुसी भएका छन ।

    स्थानीय सुशीला अर्यालले बजारमा बिरूवा खरिद गरेर घाँस लगाउन महँगो पर्ने भएकाले नगरपालिकाले निःशुल्क बिरूवा दिएपछि राहत मिलेको बताइन् । बिरूवा खरिदमा खर्च गर्नु नपरेपछि आर्थिक भार किसानले व्यहोर्नुपरेको छैनन् ।

    रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरलाई मासुमा आत्मनिर्भर बनाउनका लागि विशेष योजनाका साथ अगाडि बढेको भन्दै पशु व्यावसायिकरूपमा पालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् ।

    ‘पशुपालनका लागि उपयुक्त रहेको रामपुर पछिल्लो समय किसानले परम्परागत पशुपालन छाडेर आधुनिक प्रविधिबाट उन्नत जाततर्फ आकर्षित भइरहेका छन्’, नगर उपप्रमुख थापाले भनिन्, ‘नगर सरकारले पशुपालनमा विभिन्न अनुदान, सीपमूलक तालिम, प्रविधि सहयोग गरिएपछि व्यावसायिकरूपमा किसान अग्रसर छन् ।’

    समूहमा आबद्ध सदस्यलाई उन्नत जातका माउ बाख्रा तथा बोका वितरण, विभिन्न तालिम, प्रविधि दिइएको छ । नगरपालिकाको सहयोगमा माउ बाख्रा पाएपछि समूहका सदस्य पशुपालनमा उत्साहित भएर लागेका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij