वेबटिभी खबर
चितवन । बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी उत्साहित बनेका छन ।
साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म पर्यटक रहेको अनुमान छ । तीमध्ये आधा विदेशी छन । विदेशीमा पनि चिनियाँको संख्या बढ्दो छ ।
सौराहामा एक सय २५ होटल छन । ती होटलको क्षमता छ हजार दुई सय जनाको रहेको छ । क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो संख्याले व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ ।
यस बेला चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल वाकबाहेकका गतिविधि रोक्ने गरिन्छ । सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्दछन् । अहिले दैनिक एक सय जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए ।
यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन । कोभिडपछि पहिलोपटक चिनियाँ आएकाले हात्ती सफारीमा उनीहरुको ध्यान बढी हुने गरेको छ । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो संख्यालाई राम्रो मान्छन् ।
कतिपय होटलमा कार्यक्रम चलिरहेका छन । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढी रहेका छन । घिमिरेले भने, ‘विगतको बर्सातको तुलनामा यो वर्ष पर्यटकको संख्या राम्रो छ ।’
चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमश पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्कनेमा उनी विश्वस्त छन । होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताए ।
घिमिरेले भने, ‘संकेत राम्रो छ । अबका दिनमा पक्कै पनि पर्यटकको माहोल राम्रो बन्छ ।’ विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उनको बुझाइ छ ।
यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्दछन् । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन भित्रने अधिकांश पर्यटकको रोजाइ सौराहा हुने गर्दछ ।
पछिल्ला वर्षहरुमा खर्चिला पर्यटक पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा जान रुचाउने गरेका छन । भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij