वेबटिभी खबर
सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको संक्रमण बढेको छ । जिल्लाका प्रत्येक जसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका हुन ।
निरन्तर एक साता परेको पानीले मौसम परिवर्तन भएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्ररूपमा फैलिएको प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नवलकिशोर झाले जानकारी दिए ।
हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को संक्रमण देखिएको लालबन्दी मोडल अस्पतालका प्रमुख डा.आलोककुमार कुशवाहको भनाइ छ । डा.कुशवाहका अनुसार त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको छ ।
लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो संक्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए ।
उनका अनुसार अन्य ठाउँको तुलनामा लालबन्दी, नवलपुर र हरिवनका निजी स्वास्थ्य संस्थाका साथै सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढी देखिएको छ।
जिल्लाभर डेंगु संक्रमित पनि बढिरहेका छन् भने भाइरल फिभरको विवरण आउन बाँकी रहेको प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.झाले बताए । डा.झाका अनुसार जिल्लाभर डेंगुका ६१ जना संक्रमित रहेका छन ।
डेंगु तथा भाइरल ज्वरोबाट बच्न घर वरपर लामखुट्टे बस्न नपाउने गरी सरसफाई गर्न, संक्रमित भएका व्यक्ति अन्य व्यक्तिसँग सम्पर्कमा नराखी टाढै बसेर आराम गर्न, पोषिलो खानेकुरा प्रशस्त खान, चर्को घाम लागेको बेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij