वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा पानी प्रशोधन स्थलको निर्माण गरी मंगलबारबाट प्रयोगमा ल्याइएको छ ।
नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका हुन् । प्लाष्टिकका बोतल तथा जारको पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले मुख्यालयमा पहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको हो ।
मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्ने बताइएको छ ।
प्रति घण्टा १५ सयदेखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच गर्नुकासाथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भए नभएको भनि त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परिक्षण गराउने व्यवस्था मिलाइएको छ ।
मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकताअनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ । प्लान्ट सुरु भएसँगै सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा बाहिरबाट पानी खरिद बन्द हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij