वेबटिभी खबर
मकवानपुर । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अपराध अनुसन्धानमा नेपाल प्रहरीसक्षम रहेको बताएका छन् ।
बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले ६८औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रहरी संगठनलाई समय सापेक्ष रुपान्तरण गर्दै अझ सुदृढ बनाउनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिए । प्रदेशले संविधानमा व्यवस्था गरिएको अधिकार क्षेत्रमा रहेर काम गर्दा संघीय कानुनले विभिन्न बाधा व्यवधान देखाएकाले प्रहरी समायोजनले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे ।
प्रदेश सरकारको मातहतमा प्रहरी संगठन आएपछि मातहतका निकायलाई रुपान्तरण गर्दै लैजान सजिलो हुने मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । प्रहरी सेवालाई संख्यात्मक मात्र होइन प्रविधिको प्रयोग गरेर अपराध नियन्त्रण गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी अस्पतालको निर्माण बहुवर्षीय आयोजनाको रुपमा अगाडि बढेको बताउँदै यसका लागि चालु आवबाटै बजेट व्यवस्था गरिएको जानकारी पनि कार्यक्रममा गराइएको छ ।
सोही अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेशको शान्ति सुरक्षामा प्रहरी संगठनले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरे ।
कार्यक्रममा पूर्वप्रहरी हवल्दार डम्बरबहादुर सापकोटा (खत्री)लाई सम्मान गरिएको थियो भने प्रदेश प्रहरीका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।
साथै विभिन्न स्थानीय तह, समाजसेवी, सञ्चारक्षेत्र र संघसंस्थालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले ६८औँ प्रहरी दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा र अमनचयनमा प्रहरी कटिबद्ध भई लागिरहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij