वेबटिभी खबर
काठमाडौं । धान सुपरजोन रहेको झापाकाे कचनकवल गाउँपालिका-१ घेराबारीस्थित कृषि ज्ञान केन्द्रमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।
केन्द्रले स्थानीय गणेश कृषक समूहसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको कार्यालय प्रमुख निलकमल सिंहले बताए । सो क्षेत्रको आठ कठ्ठा खेतमा रोपाइँ गरिने उनले जानकारी दिए । केन्द्रले प्रत्येकवर्ष १५ असारमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउँदै आएको छ ।
झापामा यसपटक १७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको प्रमुख सिंहले बताए । झापाको ८७ हजार ५सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । सो क्षेत्रबाट ४.७ मेट्रिक टन प्रतिहेक्टरका दरले ४ लाख १२ हजार २५० मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ ।
कृषिलाई आधुनिकीकरण गर्न यान्त्रीकरणमा जोड दिँदै उत्पादन बढाउने परियोजनाको लक्ष्य रहेको उनले बताए ।सुपरजोन क्षेत्रमा मात्र यो वर्ष २२ प्रतिशत रोपाइँ सकिएको उनको भनाइ छ । २९ मंसिर ०६१ मा केन्द्र सरकारको मन्त्रिपरिषदले निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij