वेबटिभी खबर
काठमाडौं । शुक्रबार बस्ने नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी नहुने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले सो कमिटीलाई निष्क्रिय गर्दै सोही कमिटीलाई केन्द्रीय कमिटीको मान्यता दिँदै शुक्रबार बैठक बस्ने निर्णय बुधबार नै भएको हो ।
तर सो बैठकमा वरिष्ठ नेता नेपाल पक्षका नेताहरु उपस्थित नहुने भएका छन् । केन्द्रीय कमिटी ब्युँतिएसँगै नेपाल पक्षका नेताको पनि नवौं महाधिवेशनले तोकेको पद रहने छ, यद्यपि केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षका नेता सहभागी नहुने भएका छन् ।
बिहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
पूर्वमाओवादीबाट एमालेमा रहेका चार नेतालाई स्थायी कमिटीमा सहधागी गराएपछि नेपाल पक्ष अध्यक्ष ओलीसँग थप बिच्किएको छ । ‘पार्टीलाई २ जेठमा फर्काउने भनिए पनि पूर्वमाओवादीका चार नेतालाई के कारणले स्थायी समितिमा समावेश गराइयो रु ओलीले पार्टीमा एकलौटी निर्णय गर्दा हुन्छ भने हामीले पनि भोलि (शुक्रबार) को बैठकमा सहभागी नहुने निर्णय गरेका छौं,’ ती नेताले भने ।
संस्थापन पक्षले भने पार्टी एकताको लागि १८ जेठको बैठक नै अन्तिम प्रयासबिन्दु भएको दाबी गर्दै आएको छ । नेपाल पक्षले भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतबाट फैसला आउने आकलन गर्दै त्यसअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ ।
नेपाल पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए । संस्थापन र नेपालपक्षीय दोस्रो तहका नेताबीच बुधबार सम्वाद भए पनि कुनै निचोड निस्किएको थिएन । शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष उपस्थित नहुँदा एमाले एकताको सम्भावना झन् पर सरेको बुझिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij