वेबटिभी खबर
चितवन । सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुंग्रेखोलामा डुंगा शयर पर्यटकका लागि निकै सुखद हुन्छ । ढुंगा शयर गर्दा डेढ सय प्रजातिका माछा देख्न सकिन्छ । त्यसैगरी अजिंगर, चराहरु, गोही र वन्यजन्तु देख्न पाइन्छ । प्रकृतिसँग निकै नजिक महशुस हुने डुंगा शयर पर्यटकको आकर्षण बनेको छ ।
जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुंगा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिंगर, चाराचुरुंगी र वन्यजन्तु हेर्न सकिने बताउँछन । ‘यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ,’ उनले भने, ‘डुंगामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन् ।’
यहाँ पर्यटकलाई रातको समयमा बास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिए ।
‘कोभिडपछि यस वर्ष पर्यटकको आवागमन राम्रो छ,’ उनले भने, ‘आन्तरिकसँगै बाह्य पर्यटकको पनि भीड छ ।’ ढुंग्रेखोला कुमरोज र जनकोली सामुदायिक वनको सिमाना भएर बग्ने गर्छ । डुंगा घाटबाट हात्तीसारसम्म डुंगा चलाउने गरिएको छ । डुंगा शयर गर्दा आन्तरिक पर्यटकका लागि चार सय ५० र बाह्य पर्यटकका लागि पाँच सय ५० शुल्क तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij