वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन ।
मन्त्रालयमा स्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने जनाए ।
मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए । मन्त्री बस्नेतले भने, ‘गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छ । पैसा तिर्न नसकेर कोही बिरामीलाई आत्महत्या गर्न नपरोस् ।’
स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयमा कार्यरत कर्मचारी संमायोजनका लागि आठ सय कर्मचारीको काज फिर्ता गरेर स्थानीय तहमा पठाइएको बताए । उनले वीर अस्पतालमा भिआइपी व्यक्तिको उपचार सेवा सञ्चालन गरेपछि पछिल्लो समय उच्च पदमा रहेका व्यक्ति विदेशमा औषधि गर्न नगएको उल्लेख गरे ।
स्वास्थ्य क्षेत्रमा २०५४ देखि नयाँ दरबन्दीमा जनशक्ति भर्ना नगरेको र आफूले अब तीस हजार नयाँ जनशक्ति थप्नका लागि छलफल गरिरहेको मन्त्री बस्नेतले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij