वेबटिभी खबर
काठमाडौं । पार्टीको आसन्न १४ औं महाधिवेशन र सरकारमा आफ्नातर्फबाट पठाउने मन्त्रीका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार छलफल गर्ने भएको छ ।
पार्टीका महामन्त्री डा. शंशाक कोइरालाको महाराजगञ्जस्थित निवासमा दिउँसो ३ बजे बैठक डाकिएको हो । बैठकमा सरकारमा सहभागी हुने मन्त्री, क्रियाशील सदस्यता विवाद र पार्टी महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।
‘महाधिवेशनको कुरा चलेकै छ । पावर सेयरिङबारे पनि छलफल हुन्छ । कांग्रेसको नेतृत्वमा सरकार बने पनि आन्तरिक छलफल ठप्प रहेकोले हामी छलफलमा जुटेका हौं,’ पौडेल पक्षका एक नेताले भने ।
पौडेल पक्षले देउवा सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागी सुनिश्चित हुनुपर्ने दावी गरेको छ । देउवाले पनि पार्टीका सबै पक्षलाई समेट्ने तयारी गरेका छन् । देउवाले मन्त्रीका लागि सिफारिस गर्दा अनुहार हेरेर भन्दा पनि काम गर्न सक्नेलाई सिफारिस गर्न पौडेल र सिटौला समुहलाई भनेको एक नेताले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij