काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । शुक्रबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् ।
बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जनका बारेमा छलफल भएको छ । शनिबार बस्ने बैठकले कार्यतालिका संशोधन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार सभापति देउवाले केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय अधिवेशनको कार्यतालिका परिमार्जन गर्न आग्रह गरे ।
‘केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गते नै हुने गरी बाँकी कार्यतालिका तयार गर्नुस्,’ देउवाको भनाइ उध्दृत गर्दै शर्माले भने, ‘कुनै पनि हालतमा महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ ।’ वरिष्ठ नेता रामचन्द्र पौडेलले समायोजनका नाममा नयाँ क्रियाशील सदस्यता वितरणमा मापदण्ड उल्लंघन भएको जिकिर गरे ।
‘जिल्लामा लामो समय काम गरेका नेता कार्यकर्तालाई अल्पमतमा पर्ने गरी समायोजनका नाममा प्रक्रियाविपरीत क्रियाशील बाँड्ने काम भएको छ,’ पौडेलले भने, ‘मापदण्ड विपरीत वितरण गरिएका क्रियाशील सदस्यता सच्याउनुपर्दछ ।’ बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको कामका बारेमा जानकारी गराएका थिए ।
उनले शनिबार साँझसम्म अन्तिम प्रतिवेदन सभापतिलाई बुझाउने बताए । क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा स्थानीय अधिवेशन सर्ने सम्भावना छ । महाधिवेशन कार्यतालिका अनुसार १२ साउनमा वडा अधिवेशन हुनुपर्छ । पूर्वसहमहामन्त्री केसीले स्थानीय अधिवेशननको कार्यतालिका परिमार्जनबारे निर्णय गर्न शनिबार फेरि पदाधिकारी बैठक बस्ने भएको छ ।
‘शनिबार बस्ने पदाधिकारी बैठकले स्थानीय अधिवेशनको कार्यतालिका परिमार्जन गर्छ,’ उनले भने, ‘सभापतिज्यूले केन्द्रीय महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ भन्नुभएको छ, त्यसैले वडादेखि प्रदेशको महाधिवेशनको मिति फेरबदल हुनसक्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij