वेबटिभी खबर
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपालमा धर्मनिरपेक्षताको माग आमरुपमा नभई केही व्यक्तिको स्वार्थअनुसार लागु गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालमा धर्मनिरपेक्षता जस्तै संघीयता र गणतन्त्र पनि आयातित एजेन्डा भएको दाबी गरेका छन् ।
राजतन्त्र फ्याँकेर गणतन्त्र स्थापना हुनुमा दक्षिणी छिमेकी भारतको हात रहेको उनको ठम्याइ छ । आफ्नो पार्टीभित्र छलफलका लागि पेस गरेको प्रस्तवमा मिश्रले संघीयता र धर्मनिरपेक्षता सँगसँगै गणतन्त्रमाथि पनि प्रश्न उठाएका छन् ।
‘एकातिर नेपाललाई धर्मनिरपेक्ष बनाउन उद्दत पश्चिमा राष्ट्रहरू थिए भने अर्कोतिर नेपाललाई अब जसरी पनि गणतन्त्र बनाउनमा भारत उद्दत थियो,’ मिश्रले लेखेका छन्, ‘गणतन्त्रको आन्दोलन उत्कर्षमा पुगेको बेला भारतले राजा ज्ञानेन्द्रलाई विभिन्न किसिमका प्रलोभनहरू देखाएको र वाचाहरू गरेको बताइन्छ । यद्यपि, तिनका ठोस विवरण बाहिर आएका छैनन् ।’
संघीयता र धर्म निरपेक्षताजस्तै गणतन्त्रको आगमन पनि आयातित नै थियो भन्ने बग्रेल्ती प्रमाणहरू रहेको मिश्रले खुलाएका छन् । ‘नेपालका सात दल र माओवादी निमित्त नायकमात्र थिए,’ मिश्रले लेखेका छन् । धर्मनिरपेक्षता नेपालको धर्म र संस्कृति मास्ने उद्देश्यले जस्केलाबाट घुसाइएको हो भन्ने धारणा प्रबल बन्दै गएको मिश्रले उल्लेख गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij