वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै लेखकले पार्टीलाई एकताबद्ध बनाउन विगतमा विभिन्न प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए ।
उनले पार्टी एकताका लागि अझै निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए । ‘नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुनेछ, यो हामी सबैले विश्वास गर्न सक्छौँ । आज कांग्रेसका साथीहरू मात्र होइन, देशभरका लोकतन्त्रवादीहरू र लोकतन्त्रमा विश्वास गर्नेहरूले चाहेको पनि यही हो,’ उनले भने । लेखकले कांग्रेसलाई एकताबद्ध गर्न आफूहरूबाट विभिन्न प्रयास भएको भएपनि त्यसले परिणाम दिन नसकेको बताए ।
पार्टी एकताका लागि आफू व्यक्तिगत रूपमा पनि विभिन्न घटनामा जोडिएको र त्यसलाई नजिकबाट देखेको उनको भनाइ थियो । ‘हामीले कांग्रेसलाई एकताबद्ध गर्नका निम्ति निकै प्रयत्न र कोसिस गरेका छौँ । हामीले पार्टीलाई एकताबद्ध गर्न सकेका छैनौँ । अझै पनि प्रयत्न र प्रयास गर्नुपर्छ र पार्टीलाई एकताबद्ध गर्नुपर्छ,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij