वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउनु उदाहरणीय काम भएको बताएकी छन् । ललितपुर महानगरपालिकाले आयोजना गरेको ‘चिकित्सक सहितको एम्बुलेन्स सेवा’ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री मेहताले सामान्य एम्बुलेन्स सेवा धेरै स्थानीय तहले दिँदै आएपनि मेडिकल अफिसरसहितको सेवा सञ्चालन गर्नु विशेष उपलब्धि भएको बताइन् ।
मन्त्री मेहताले भनिन्, ‘एम्बुलेन्स सर्भिस दिनु भनेको ठूलो कुरा होइन, धेरै नगरपालिकाले प्रदान गरिरहेका छन् । तर एम्बुलेन्स सर्भिसमा पारामेडिक्स मात्र होइन, मेडिकल अफिसर र सुरक्षाकर्मीसमेत सँगै राखेर सेवा सुरु गर्नु केही देशहरूले मात्र सुरु गरेका छन् । त्यसमध्ये ललितपुर महानगरपालिकाले यो सेवा सुरु गर्नु सबैका लागि गर्वको कुरा हो ।’ उनले चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु गरेकामा ललितपुर महानगरको सम्पूर्ण टिमलाई धन्यवाद दिइन् ।
उनले जनप्रतिनिधिको पहिलो प्राथमिकता नागरिकलाई एकसय प्रतिशत सेवा प्रदान गर्नु रहेको बताइन् । स्वास्थ्य मन्त्रालयको प्राथमिकता पनि नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइन् ।ललितपुर महानगरपालिकालाई स्वास्थ्य मन्त्रालयबाट आवश्यक सहयोग र सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको पनि उनले बताइन् ।
यस्तै कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले व्यक्तिगत स्वास्थ्य स्वस्थ रहेको र औषधिको नाम सोधेमा चारपाँच वटा मात्र भन्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रमा विज्ञता नभएको स्वीकार गरेका छन् । उनले अवधारणाको विकास ‘सिटी नेट’(एशिया प्यासिफिक रिजनका १७४ मेयरहरूको सञ्जाल) मार्फत फिलिपिन्सको माकाटी सहरको भ्रमण गर्दा त्यहाँको डाक्टरसहितको एम्बुलेन्स सेवाबाट प्रभावित भएर यो योजना ल्याइएको बताए ।
नवौं नगरसभाबाट यो प्रस्ताव पारित भई बजेटको समेत व्यवस्थापन गरिएको मेयर महर्जनले जानकारी दिए । साउन १ गतेबाट सुरु गर्ने भनिए पनि पर्याप्त ‘होमवर्क’ र कार्यविधि निर्माण गर्नु परेकोले केही समय ढिला भएको उनको भनाइ थियो । उनले सेवा सञ्चालन गर्नु अत्यन्तै चुनौतीपूर्ण रहेको र काम गर्दै जाँदा कमजोरीहरू आए पनि ‘लर्निङ बाइ डुइङ’ को अवधारणाबाट अघि बढ्ने प्रतिबद्धता रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij