वेबटिभी खबर
काठमाडौं । मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीले बालबालिकामा पटकपटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताएका छन्। उनका अनुसार विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा टन्सिलाइटिसको समस्या बढी देखिन्छ । स्ट्रेप्टोकोकस नामक ब्याक्टेरियाका कारण घाँटीमा संक्रमण भएर टन्सिल बढ्ने तथा पाक्ने समस्या देखिनसक्ने भन्दै उनले समयमै उचित उपचार गर्नुपर्ने बताए ।
‘टन्सिल पाक्ने रोग अर्थात टन्सिलाइटिस वा घाँटीमा इन्फेक्सन हुने समस्या जुन छ त्यो एक प्रकारको ब्याक्टेरिया स्ट्रेप्टोकोकस हो । त्यसले घाँटीमा इन्फेक्सन गरायो, टन्सिल बढ्यो, टन्सिल पाक्या भने त्यस्तो बेलामा उपचार गरिएन, नुनपानी, बेसारपानी, सिटामोलमा मात्र भर परियो भने समस्या बल्झिरहन सक्छ,’ उनले भने । डा। रेग्मीका अनुसार पटकपटक टन्सिलको संक्रमण भइरहेमा त्यसको असर मुटुसम्म पुग्न सक्छ । यस्तो अवस्थामा मुटुको भल्भ बिग्रिने समस्या देखिन सक्ने र यसलाई ‘बाथ मुटुको रोग’ भनिने उनले बताए।
‘टन्सिल पाक्ने वा बढ्ने समस्या फर्कीफर्की आयो भने बालबालिकाहरूलाई असर गर्छ । विशेषगरी ५ देखि १५–२० वर्षसम्म उमेरका स्कुल वा कलेज जाने उमेरका बच्चाहरुलाई टन्सिलबाट मुटुमा असर गर्नसक्छ । मुटुको भल्भ बिग्रिन सक्छ । यसलाई बाथ मुटुको रोग भनेर भनिन्छ’, उनले भने । नेपालमा बाथ मुटुको रोग ठूलो समस्या रहेको उल्लेख गर्दै उनले यसबारे जनचेतनाको अझै कमी रहेको बताए । टन्सिलको संक्रमण हुँदा घरमै नुनपानी, बेसारपानी वा सिटामोल मात्रै खाएर बस्न नहुने उनको भनाइ छ ।
उनले भने,‘घाँटीको टन्सिल पाक्दाखेरि उपचार गरेन भने मुटुको रोग लाग्न सक्छ । एन्टिबायोटिकमार्फत उपचार गर्नुपर्छ, चिकित्सककहाँ जानुपर्छ । घरमा बसेर नुनपानी खाएर, सिटामोल मात्रै खाएर उपचार गर्नुहुन्न ।’ उनले टन्सिलको संक्रमण बारम्बार दोहोरिने बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गरे। घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने र ज्वरो आउनेजस्ता लक्षण देखिए चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उनको सुझाव छ । डा। रेग्मीका अनुसार टन्सिलको संक्रमणपछि बाथ मुटुको रोग सिधै मुटुमा पुग्दैन। सुरुमा जोर्नीमा असर गर्ने र त्यसपछि मुटुमा समस्या निम्तिन सक्ने उनले बताए ।
‘मुटुमा जानुभन्दा अगाडि जोर्नीमा जान्छ । जोर्नीहरू दुख्ने, सुन्निने हुन्छ, जसलाई हामी बाथ ज्वरो भनेर भन्छौँ,’ उनले भने, ‘स्कुल जाने उमेरका बालबालिकालाई घाँटी दुख्ने अनि साथसाथै त्यसको केही समयपछि जोर्नीहरू दुख्ने, सुन्निने, ज्वरो आउने अवस्था देखियो भने चाहिँ सतर्क हुनुपर्छ ।’ जोर्नी दुखेका कारण कतिपय बालबालिका हाडजोर्नीसम्बन्धी चिकित्सककहाँ जाने गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा मुटुको समेत परीक्षण गर्नुपर्ने बताए । ‘धेरैजसो जोर्नी दुख्यो भनेर बालबालिकाहरू अर्थोपेडिकमा, हाडजोर्नीकोमा गएको हामी देख्छौँ र त्यहाँ गएर हाडजोर्नीको उपचारमा जाँदा पछि मुटु धेरै बिग्रिएको हुनसक्छ,’ उनले भने, ‘त्यसैले स्कुल उमेरका बालबालिकाहरूलाई जोर्नी नै दुख्ने भयो भने पनि एकपल्ट मुटु चाहिँ जचाउनुपर्छ ।’
समयमै रोग पहिचान गर्न सके मुटुलाई जोगाउन सकिने उनको भनाइ छ । तर मुटुको भल्भ बिग्रिएपछि त्यसलाई पुनः सामान्य अवस्थामा फर्काउन कठिन हुने र गम्भीर अवस्थामा भल्भ नै फेर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । उनका अनुसार २० वर्षभन्दा कम उमेरका बालबालिकामा टन्सिलको संक्रमणपछि बाथ मुटुको रोग हुने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ । २० वर्षभन्दा माथि यस्तो समस्या हुने सम्भावना कम हुने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij