वेबटिभी खबर
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् । अभियानको उद्घाटन गर्दै शनिबार प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्न महंगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आम नागरिकलाई यस अभियानमा जोडिन आव्हान गरेका हुन् ।
उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यो अपिल जारी गरिरहँदा हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ । ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ । महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्। जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन्।’
उनले विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा बलियो बनाउनु दायित्व रहेको पनि बताए । ‘आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो। सरकारमा रहँदा हाम्रो तर्फबाट सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहन्छौं,’ उनले भने । प्रचण्डले अभियानमार्फत जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्याइ समाधानका लागि निरन्तर पहल गरिने बताए । साथै, उनले जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने समेत बताए ।
‘जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ । जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ। हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो,’ उनले भने । नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । उद्घाटन समारोहमा पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेता नारायण काजी श्रेष्ठलगायतका अग्रज नेताहरुको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij