वेबटिभी खबर
काठमाडौं । श्रीलंकाको कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता सहभागी भएकी छन् । बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मन्त्री मेहताले क्षेत्रीय जनस्वास्थ्य सहकार्य, संक्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावबारे नेपालको धारणा प्रस्तुत गरेकी थिइन् ।
उनले स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी तथा सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई नेपालको प्राथमिकताका रूपमा उठाएकी थिइन् । बैठकका क्रममा बिम्स्टेक सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट र छलफलसमेत भएको थियो ।
छलफलमा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, अनुभव तथा प्राविधिक ज्ञान आदानप्रदान र साझा स्वास्थ्य चुनौतीको सामूहिक समाधानका विषयमा विचारविमर्श भएको थियो । नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई थप सबल, समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij