वेबटिभी खबर
काठमाडौं । जुम्लामा श्रीमानको कुटपिट बाट २० वर्षीया एक महिला गम्भीर घाइते भएकी छन् । हिमा गाउँपालिका-७ मच्ची गाउँकी कर्मकन्या वड श्रीमानको कुटपिट बाट घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचाररत रहेकी छन् । गत मंसिर ३ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी कर्मकन्याको मुख र कानमा गम्भीर चोट लागेको छ । पीडितका अनुसार उनका २२ वर्षीय श्रीमान् उमेश त्रिरुवाले नशा सेवन गरी पटकपटक कुटपिट गर्दै आएका थिए ।
यस पटकको कुटपिटबाट उनको माथिल्लो ओठमा गम्भीर चोट लागेको र कानबाट समेत रगत बगेको पीडितले बताएकी छन् । यसअघि पनि कुटपिटमा परेको उनको भनाइ छ । पीडितको माइतीघर सिंजा गाउँपालिका-२ चुलेल गाउँ हो । उनका दाइ सुनजित वडका अनुसार बहिनीले लामो समयदेखि श्रीमान्को हिंसा सहँदै आएकी थिइन् । घरबार बिग्रिन नदिन परिवारले पटकपटक मिलापत्र गराएर श्रीमान्को घर पठाए पनि हिंसा नरोकिएको उनले बताए ।
पीडित परिवारले घटनामा श्रीमान् उमेश त्रिरुवा र सासू धौली त्रिरुवाको समेत संलग्नता रहेको आरोप लगाएको छ । घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आरोपित उमेश त्रिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।
घरपरिवार र समाजको डरले पटक-पटक हिंसा सहन बाध्य भएकी कर्मकन्याको घटनाले जुम्लामा घरेलु हिंसाको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ । घरबार जोगाउने नाममा महिलामाथि हुने हिंसालाई सामान्य रूपमा लिन नहुने भन्दै पीडितको सुरक्षा, उपचार र न्याय सुनिश्चित गर्नुपर्ने आवाज उठेको छ । विवाहको अर्थ हिंसा सहनु होइन । कुनै पनि बहानामा महिलामाथि कुटपिट र दुर्व्यवहार स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij