Logo

२०८३, मंसिर १४ गते आइतवार

२०८३, मंसिर १४ गते आइतवार

प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने

प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने

  • 109
    SHARES
  • प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने

    काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रंगशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो ।

    पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोविता गौतम र महिला, बालबालिकामन्त्री सीता वादी सहभागी थिए । त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, बोर्ड सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन् । मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार पौडी र शारीरिक सुगठनसहितका खेलबाट ६६ पदकको टुंगो लाग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij