वेबटिभी खबर
काठमाडौं । लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीका छोरा सादी गद्दाफीलाई राजधानी त्रिपोलीको जेलबाट ७ वर्षपछि रिहा गरिएको छ । उनी सन् २०१४ देखि जेलमा थिए ।
सादी गद्दाफी लिबिया विशेष बलका कमान्डर थिए तर उनले इटालीमा एक प्रोफेसन फुटबल खेलाडीको रुपमा आफ्नो करिअर बनाउने प्रयास गरेका थिए । सन् २०११ मा उनका बुवा मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि उनी भागेर नाइजर पुगेका थिए । तर उनलाई त्यहाँबाट पुनः लिबिया झिकाइयो ।
सादीमाथि सन् २००५ मा फुटबल प्रशिक्षक बसिर अल रायनीको हत्या गरेको र सन् २०११ मा प्रदर्शनकारीविरुद्ध अपराध गरेको अभियोगमा दोषी नठहरिएपछि रिहा गरिएको हो । रिहाइपछि सादी निजी विमानमा इस्तानाबुल उडेका छन् ।
मुअम्मरका ८ सन्तानमध्ये धेरै जनाले उनको शासनकालमा ठूलो भूमिका निभाएका थिए । उनका अर्का छोरा मुतस्सिमलाई सन् २०११ मा हत्या गरिएको थियो । अरु दुई छोरा विद्रोहको सुरुवात मै मारिएका थिए । उनको उत्तराधिकारी मानिने सैफ अल इस्लाम भने सन् २०१७ मा रिहापछि लिबियामा नै बस्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij