Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अनेरास्ववियु अध्यक्षमा चारजनाको दाबेदारी

अनेरास्ववियु अध्यक्षमा चारजनाको दाबेदारी

  • 1.0K
    SHARES
  • अनेरास्ववियु अध्यक्षमा चारजनाको दाबेदारी

    काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व परिवर्तन हुने भएको छ । अनेरास्ववियूका वर्तमान अध्यक्ष ऐन महरलाई पार्टी प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा लाने भएसँगै उनी अनेरास्ववियुबाट बिदा हुन लागेका हुन् । 

    महर अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए । ५ वर्षअघि भएको सम्मेलनबाट अध्यक्षमा निर्वाचित नविना लामा नेकपा एकीकरणसँगै संगठनबाट बिदा भएकी थिइन् । यसपटक भने राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियुको नेतृत्व फेरिन लागेको हो ।एकीकृत संगठनको संयोजक महर र सहसंयोजक रञ्जीत तामाङ थिए । २३ फागुन ०७७ मा नेकपा एकता रद्द भएपछि महरले अनेरास्ववियुको नेतृत्व गर्दै आएका छन् ।

    सम्मेलनको हिसाबले ऐन महरले आफ्नो कार्यकाल पूरा गरिसकेकाले उनलाई केन्द्रीय कमिटीमा ल्याउन लागिएको एमाले स्रोतले जनाएको छ । शनिबार बस्ने सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियूका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईको भनाइ छ ।शनिबारको सचिवालय बैठकले अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटी टुंगो लगाउने भट्टराईले जानकारी दिए । शुक्रबार पार्टी महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा अखिलको स्थायी कमिटी बैठक बसेको छ । 

    अनेरास्ववियु अध्यक्ष पदमा उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र सुनिता बरालले दाबी गरेका छन् ।  उपाध्यक्ष शैलेस लामाले भने अध्यक्षमा दाबी गरेका छैनन् ।  यस्तै २२ औं सम्मेलनबाट निर्वाचित सचिव तथा प्रवक्ता आरसी लामिछाने पनि अध्यक्षको प्रतिस्पर्धामा छन् । एमालेका विद्यार्थी इन्चार्ज भट्टराईले यी चारजनामध्येबाट एकजना अध्यक्ष हुने र बाँकी उपाध्यक्षहरू संगठनबाट बिदा हुने जनाए ।

    अध्यक्षका अर्का दाबेदार समिक बडाललाई भने महासचिव बनाइने भएको छ । २३ औं राष्ट्रिय सम्मेलनबाट निर्विकल्प अध्यक्षका रूपमा बडाललाई खडा गर्न लागिएको अखिल स्रोतले जनाएको छ । अध्यक्षका दाबेदारमध्ये रश्मी आचार्य देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति हुन् । २०६५ सालमा उनी निर्वाचित भएपछि पिएनमा स्ववियू चुनाव भएको छैन ।

    यस्तै महेश बर्तौला मकवानपुर बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति हुन् भने सुनिता बराल एमालेको विद्यार्थी विशेष जिल्ला कमिटीकी अध्यक्ष पनि हुन् । आरसी लामिछाने लामो समयदेखि विद्यार्थी आन्दोलनमा छन् । उनलाई अध्यक्ष बनाउन नसकिए वरिष्ठ उपाध्यक्ष बनाउनेबारे छलफल भइरहेको एमाले स्रोतको भनाइ छ ।

    अखिलका निर्वाचित सचिवमध्ये सुदेश पराजुली, आरती लामा र वसिम आलम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । नयाँ पदाधिकारी चयनसँगै स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा केही सदस्य थपिने भएका छन् । माधव नेपाल समूह छाडेका र पूर्वमाओवादीबाट एकता प्रक्रियामा आएकासहितलाई समेटेर केन्द्रीय कमिटी बनाउन लागिएको हो । अध्यक्षमा सहमति जुटाउन नेताहरू अनौपचारिक छलफलमा छन् ।

    २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित कोषाध्यक्ष झपीन्द्र खत्रीसहित स्थायी कमिटीमा रहेका यमराज पाण्डे, कल्पना वाइबा, उमेश रोकाय, नारायण घर्ती, उमेश आचार्य, मर्यादा विष्टलगायतलाई उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षसहितका पदाधिकारीमा व्यवस्थापन गरिने एमालेको तयारी छ । आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेले विद्यार्थी संगठनमा नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij