एजेन्सी । उरुग्वेली फरवार्ड लुइस स्वारेज चम्किएपछि एट्लेटिको मड्रिडले गेटाफेलाई हराएको छ। एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर स्वारेजले दुई गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिकोले गेटाफेमाथि पूनरागमन जित निकालेको हो।
कोलिसिअम अलफन्सो पेरेज स्टेडियममा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्त्यतिर स्टेफन मित्रोभिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर त्यो अग्रतालाई गेटाफेले जोगाउन सकेन ७४औं मिनेटमा कार्लोस एलेना दोहोरो पहेँलो कार्ड खाँद मैदानबाट बाहिरिएपछि दवावमा आएको गेटाफले त्यसपछि दुई गोल बेहोर्दै पराजित हुन पुग्यो । गेटाफे १० खेलाडीमा समेटिएको फाइदा पाहुना टोलीले उठाउन सफल भयो । ७८औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्वारेजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई २–१ को पूनरागमनसहित महत्वपुर्ण ३ अंक दिलाए ।
यो जितसँगै अपराजित रहेको एट्लेटिको मड्रिड १४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोले ६ खेलमा चार जित र दुई बराबरीको नतिजा निकालेको छ । एट्लेटिकोले एक खेल कम खेलेको रियल मड्रिडलाई १ अंकले पछि पारेको छ । पराजित गेटाफे अंकविहीन हुदै पुछारमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij