Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बडादसैँको टीका लगाउने साइत बिहान १०:०२ मा उत्तम [भिडियाेसहित]

बडादसैँको टीका लगाउने साइत बिहान १०:०२ मा उत्तम [भिडियाेसहित]

  • 659
    SHARES
  • बडादसैँको टीका लगाउने साइत बिहान १०:०२ मा उत्तम [भिडियाेसहित]

    काठमाडौं । महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज (शुक्रबार) आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । 

    बिहान ८:१९ बजे देवी विसर्जन र बिहान १०:०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताएका छन् । 

    विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०:०२ बजे रहेको समितिले जनाएको छ । अत्यावश्यक परेकाले सूर्याेदयपछि देवी विसर्जन गरेर टीका लगाउन मिल्छ । 

    विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ । 

    विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । 


    नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी आशीर्वाद लिने गरिन्छ । 

    विजयादशमी : अन्यायमाथि विजय प्राप्त गरेको दिन 
    दशमीलाई जनजिब्रोको बोलीमा दसैँ भनिने गरिन्छ । यो शुभ दिनलाई विजयादशमी भन्ने गरिन्छ । 

    यो दिन किन महत्वपूर्ण छ भने, भगवान् श्रीरामले रावणमाथी विजय गरेको दिन एउटा । अर्को भगवती दुर्गादेवीले महिसासुर, चण्ड, रक्तविद्, मुण्ड, सुम्भ, निसुम्भ दैत्यहरुमाथी विजय प्राप्त गरेको दिनलाई विजयादशमी भनिन्छ ।

    दशमीको दिनलाई अन्यायमाथी विजय प्राप्त गरेको उत्सवको रुपमा दसैँ मनाउँदै आइएको छ । यस दिन देवता तथा मानवले खुसीले भुईं छोडेर उत्सव मनाएका थिए । त्यसैले केही बेर भए पनि समय छुट्याएर पिङ खेल्ने गरिएको हो । अरु दिन बसे, नबसे पनि विजयदशमीको दिन केही क्षण भुईं छोडेर पिङमा बस्नुपर्छ । त्यसैले पिङ खेल्ने परम्परा चलनचल्तिको रुपमा चलिआएको छ ।

    उत्सवमा मान्छेको हृदय खुसीले गदगद, उत्साहित, प्रफूलित हुने भएकाले पिङ खेल्ने गरिन्छ । नौ दिनसम्म पूजा गरिएको कलशको जल अभिषेक गर्ने, कलशमा राखिएका राता, सेता ध्वजा र बाधिँएका रक्षा विधानहरु गुरुहरुको हातबाट बाँध्नुपर्छ । त्यसपछि घरको मूल मान्छेले परिवारका सबै सदस्यलाई तिलक, प्रसाद लगाइदिनु पर्छ । यस परम्परालाई विजयादशमी भनिन्छ ।  

    यसकासाथै आफूभन्दा सानालाई बोलाएर तिलक, पाती दिई मिठामिठा परिकार खान दिएर विजयादशमी मनाउनु पर्छ । दसैँ मनाउँदा एक वर्ष हाम्रो जीवन खुसीसाथ बित्दछ । दसैँ मनाउँदा मानवलाई कुनै किसिमको दुःख पीडा नहुने हिन्दु धर्मको मान्यता पनि रहिआएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij