Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गर्भ जाँच बर्थिङ सेन्टरमा, सुत्केरी गराउन सहरका अस्पतालमा

गर्भ जाँच बर्थिङ सेन्टरमा, सुत्केरी गराउन सहरका अस्पतालमा

  • 440
    SHARES
  • गर्भ जाँच बर्थिङ सेन्टरमा, सुत्केरी गराउन सहरका अस्पतालमा

    झापा । सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउने गरेका छन् ।

    आदिवासी, मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको झापा गाउँपालिकाको दुई वर्षको तथ्यांक हेर्दा स्थानीय महिला पालिकमा रहेको बर्थिङ सेन्टरमा गर्भवती जाँच गर्न आएपनि बच्चा जन्माउन दमक र विर्तामोडका ठूला अस्पताल धाउने गरेको तथ्यांकले देखाएको छ ।

    पालिकाको कामाटोली बजारमा विगत ५ वर्षदेखि सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । तर, विगत दुई वर्षको अवधिमा पालिकामा ३ हजार ११७ बालबालिकाको जाँच भएपनि उक्त बर्थिङ सेन्टरमा भने ४४ जनाको मात्र जन्म भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मण बिकले बताए ।

    पालिकाकाे बर्थिङ सेन्टरमा सहर गएर सुत्केरी गराउन नसक्ने अतिविपन्न समुदायका महिलाले मात्र सुत्केरी सेवा लिएको पालिकाको तथ्यांकले देखाएको छ । केन्द्रका प्रमुखका अनुसार सेन्टरमा आर्थिक वर्ष २०७७/०७८ मा ११ र २०७६/०७७ मा २३ जना सुत्केरी भएका छन् । सुत्केरी हुने अधिकांश मुस्लिम समुदायका महिला रहेको उनले बताए ।

    उनले गर्भवती हुने महिला पहिलोपटक जाँच गराउन धेरै आउने तर दोस्रो पटकदेखि घट्दै जाने गरेको जानकारी दिए । गतबर्ष पहिलोपटक महिनावारी रोकिएका २२४ ले स्वास्थ्य जाँच गराएका थिए भने, दोस्रोपटक जाँच गराउनेको संख्या घटेर १५४ मा सीमित भएको थियो । तीमध्ये पनि चौथोपटक जाँच गराउन आउनेको संख्या ७८, प्रसूति हुनेको संख्या ११ रहेको उनको भनाइ छ ।

    ‘पैसा हुनेहरु विराटनगर, विर्तामोडतिर जान्छन्’, प्रमुख बिकले भने, ‘चौबीसै घण्टा सेवा दिइरहेको हाम्रो बर्थिङ सेन्टरमा भने पैसा नहुने अति गरिब मात्र आउँछन् ।’ उनका अनुसार गर्भवती भएपछि महिला नियमित लिनुपर्ने खोप र औषधिका लागि मात्र आउने गरेका छन् ।

    बर्थिङ सेन्टरमा आवश्यक उपकरण र सामग्री पर्याप्त रहेको बताउँदै उनले भने, ‘अस्पतालमै सुरक्षित सुत्केरी गराउनुपर्छ भन्ने चेतना चाहिँ मान्छेमा आयो तर आफ्नै स्थानमा भएको सेन्टरको सेवाप्रति विश्वस्त बनाउन अझै बाँकी देखियो ।’

    गाउँपालिकाका पञ्जीकरण शाखाका कर्मचारी रोहित कर्णले आव २०७७/०७८ मा २ हजार १८ बालबालिकाको जन्मदर्ता भएको बताए । जसमध्ये ९८७ बालिका र १ हजार ३१ बालक रहेको उनको भनाइ छ । यसैगरी अघिल्लो आव २०७६/०७७ मा १ हजार ९९ को जन्मदर्ता भएकोमा ५५६ बालक र ५४३ बालिका रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij