वेबटिभी खबर
खोटाङ । खोटाङको प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरबाट ३ वर्ष अवधिमा १ करोड ९२ लाख ३७ हजार ४८८ भेटी संकलन भएको छ । भने १ करोड १५ लाख ३१ हजार ५० व्यय भएको हो ।
हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ आय र ४२ लाख ४२ हजार ३५० व्यय, आव २०७६/०७८ मा ५३ लाख ८९ हजार ८६९ आय र ४० लाख ६२ हजार ५२१ व्यय तथा आव २०७७/०७८ मा ५१ लाख २८ हजार ४०४ आय र ४२ लाख २६ हजार १७९ व्यय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिएका हुन् ।
भेटी बापत जम्मा भएको रकम खर्च कटाएर ७७ लाख ६ हजार ४३८ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ । हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेशी र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहना लगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको छ ।
हलेसीमा आउने स्वदेशी तथा विदेशी दर्शनार्थीले चढाएका भेटी, विदेशी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ । हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले दानपेटिकाको चाँबी राख्ने गरेका छन् ।
मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।
प्राकृतिक रुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलंका, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा ७ दिन र हरितालिका तीजमा ३ दिन मेला लाग्ने गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij