वेबटिभी खबर
जुम्ला । कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला-रारा अल्ट्रा म्याराथन २०७८ को तयारी तीव्र पारेको छ । आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तीव्र तयारी भइरहेको हो ।
जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्येमबाट चिनाउन म्याराथन आयोजना हुन लागेको क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको छ । तेस्रो पटक जुम्ला-रारा अल्ट्रा म्याराथन हुँदैछ । २०७५ मा पहिलो, २०७६ मा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो ।
कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन । एक वर्षको फरकमा जुम्ला-रारा अल्ट्रा म्याराथन हुन लागेको अध्यक्ष शाहीको भनाइ छ ।
समुन्द्री सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन ३ हजार ३ सय मिटरको उचाइमा रहेको डाँफे लेक, ४ हजार १ सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै २ हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगिने छ ।
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी पाँचदेखि सात घण्टामा पार गर्ने विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिए । म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ ।
गत वर्षको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३५० सम्म सहभागिता भएका थिए । यस पटक पनि खेलाडी संख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस वर्ष म्याराथनमा बिजेता खेलाडीको पुरस्कार १ लाखभन्दा माथि हुने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij