वेबटिभी खबर
काठमाडौं । मधेश प्रदेशका ३ हजार विपन्न महिलालाई नेपाल-भारत महिला मैत्री समाज काठमाडौंले खाना बनाउन सहज होस भनेर ग्यास सेट वितरण गर्ने भएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको उपस्थितमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र काठमाडौंस्थित भारतीय राजदुताबासबीच दुई पक्षिय सम्झौतमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार तीन हजार ग्यास सेट सर्लाही, रौतहत र सप्तरीमा वितरण गरिने छ ।
दाउरामा खाना बनाउँदा महिलाको स्वास्थ्यमा समस्या पर्ने गरेको लगायतका समस्या समाधान गर्न यो कार्यक्रम गर्न लागिएको हो । मन्त्री रेग्मीले महिलालाई सवल, निरोगी बनाउन यो कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै यसबाट सबै भन्दा बढी दलित तथा विपन्न समुदायका महिला र बालबालिका लाभान्वित हुने बताइन् ।
उनले रित्तिएको सिलिण्डरमा पुनः ग्यास भर्न सक्नेगरी महिलालाई आत्मनिर्भर बनाउनेतर्फ पनि गृहकार्य गर्न जरुरी रहेको औंल्याइन् । ‘महिलालाई सीप मूलक तालिम दिएर उद्यमी बनाउनु पर्छ । त्यसरी तालिम लिएका महिलालाई निश्चित समयसम्म सरकारले विना धितो ऋण दिनु पर्छ । केही समयका लागि करमा पनि छुट दिएर आत्मनिर्भर बनाउनु पर्छ,’ उनले भनिन ।
कार्यक्रममा समाजकी अध्यक्ष चौधरीले यस संस्थाको गठनसँगै गरिएका कामहरुको बारेमा जानकारी दिएकी थिइन । समाजको स्थापनापछि भएका कामहरु निकै प्रभावकारी भएको उनले बताइन् । कार्यक्रममा भारतीय दुतावासकी डेपुटी चिफअफ मिसन नामग्या खाम्पा पनि सहभगी थिइन् । त्यसैगरी सांसदहरु, सामाजिक क्षेत्रका अगुवालगायत कार्यक्रममा सहभागी थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij