वेबटिभी खबर
नयाँ दिल्ली । कोरोना भाइरसको दोस्रो छालसँग लडिरहेको भारतलाई रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले भारतमा कोभिड-१९ विरूद्धको खोप स्पुत्निक-भी मे महिनाको १ गतेसम्म पुग्ने बताएको छ । यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ ।
आरडीआईएफका कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पुर्याउने गरी तयारी भएको छ ।
दिमित्रीभले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा भने, ‘स्पुत्निकको पहिलो मात्रा खोप मे १ सम्म नयाँ दिल्ली पुग्नेछ साथै भारत स्पुतनिक-भी का प्रमुख उत्पादकहरूमध्ये एक हुनेछ ।’ भारतीय चिकित्सकहरूले खोपको छिटो पहुँच होस् भन्ने चाहेका पनि उनले बताए ।
हाल भारतले एस्ट्राजेनेका र युनिभर्सिटी अफ अक्सफोर्डले बनाएको कोभिशिल्ड र भारतको बायोटेकले बनाएको कोभ्याक्सिन गरी कोरोना भाईरसका दुई खोपलाई प्रयोग गरिरहेको छ ।
रूसले स्पुत्निक भीलाई विश्वको सबैभन्दा पहिले मान्यताप्राप्त कोरोना भाइरस खोपका रूपमा दर्ता गरेको थियो र यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ । यो खोप विश्वभरिका विभिन्न ६० देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमोदित भएको छ ।
द लेन्सेटमा प्रकाशित परीक्षणको एक अन्तरिम विश्लेषणका अनुसार खोपको ९१.६ प्रतिशत प्रभावकारिता छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij