वेबटिभी खबर
काडमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान माेटरसाइकल र स्कुटर खोजतलास गरि सम्बन्धित धनीलाई बुझाएको छ ।
ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरूलाई बुझाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टले भने, ‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरू बरामद गर्छ र चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेका छौँ । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरू सम्बन्धित धनिलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।
भट्टले हराएका माेटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजग हुनुपर्ने बताए । सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न उनले अनुरोध गरेका थिए ।
माेटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरीसमेत परिचालन गरिएको उनले जनाए ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij