वेबटिभी खबर
काठमाडौं । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ३ जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ ।
गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि-२०७५ अनुसार १ महिला र २ पुरूष गाउँ प्रहरीको पदपुर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो ।
२१ असारसम्म दरखास्त म्याद दिएकोमा २९ पुरूष र ७ महिलाको आवेदन परेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले खुल्ला प्रतियोगीतामार्फत समावेशी प्रावधानअनुसार करारमा गाउँ प्रहरी भर्ना गर्न लागेको हो । गाउँ प्रहरी छनौटका लागि आगामी २८ साउनमा परीक्षा सञ्चालनको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् ।
ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवासुविधा पाउनेगरी १४ फागुन ०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो ।
तर कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपूर्ति गर्न लागिएको हो । हाल गाउँपालिकामा एकजना मात्र गाउँ प्रहरी कार्यरत छन् । गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेको छ । हलेसी तुवाचुङ नगरपालिकामा सुरक्षागार्ड नियुक्त गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij