Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मिटरब्याजीलाई मस्ती, पीडितलाई सास्ती

मिटरब्याजीलाई मस्ती, पीडितलाई सास्ती

  • 394
    SHARES
  • मिटरब्याजीलाई मस्ती, पीडितलाई सास्ती

    काठमाडौं । मिटरब्याजीविरूद्ध करिब डेढ महिनादेखि पीडितहरू संघीय राजधानी काठमाडौंमा आन्दोलनरत छन् ।

    images

    न्यायको प्रतिक्षामा उनीहरूको कयौँ रात भोकै बितिसकेको छ । जति तिर्दा पनि नसकिने ऋणले घरखेतै सिद्धिएपछि न्यायको खोजीमा सरकारको ध्यानाकर्षण गराउन पीडितहरू राजधानी आइपुगेका हुन् । तर पीडकलाई कानुनी कारबाही त कहाँ हो कहाँ उल्टै प्रहरी प्रशासनले तिनै निर्धा पीडितहरूमाथि लाठी बर्साउने काम गरेको छ ।

    पीडितहरूको घाउमा मलमको सट्टा नुन खुर्सानी छर्किने काम भएको छ भने मिटरब्याजीहरू गरिबको सम्पत्तिमा रजाइँ गरिरहेका छन् । थोरै ऋण दिएर घरखेत उठिबास लगाउने पीडकको टाउकोमा बर्सिनु पर्ने लाठी उल्टै पीडितमाथि बर्सिदा पक्कै पीडकले खुसी मनाएको हुनुपर्छ ।

    प्रदर्शनको ४१औँ दिनमा मिटरब्याजीविरूद्धको किसान मजदुर संघर्ष समितिका उपाध्यक्ष कुलबहादुर थापाको टाउकोमा लागेको लाठीले बनेको घाउमा पाँच टाँका लागेको छ ।

    ‘जीवनका सारा खुसी लुटिएपछि सरकार गुहार्न हामी काठमाडौं आएको थियौँ । तर सरकार पनि मिटरब्याजीहरूकै मतियार रहेको महसुस भइरहेको छ,’ उपाध्यक्ष थापाले घाउ देखाउँदै भने, ‘हाम्रो माग पूरा नभएसम्म हामी सडक छाेड्दैनौँ । सारा सम्पत्ति सकिएर मरे बराबरकै भएका छौं । न्यायका लागि मर्न पनि पछि पर्दैनौं ।’

    सोमबार र मंगलबार प्रहरीले पीडितहरूलाई धरपकड र लाठ्ठी चार्ज गरेको थियो । मिटरब्याजीलाई कारबाही गर्नुपर्ने विभिन्न मागहरू राख्दै पीडितहरू डेढ महिनादेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । मिटरब्याजीले दृष्टिबन्धक गरेको सबै जग्गा फुकुवा हुनुपर्ने, झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनु पर्ने, जाली तमसुक सबै च्यात्नुपर्ने, हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र मिटरब्याजीलाई पक्राउ गरेर जेल हाल्नुपर्ने मागसहित संघर्ष जारिरहेको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताले बताए ।

    pidit2.jpg

    प्रहरीले पीडितहरूको आन्दोलनमा हस्तक्षेप गरेपछि सरकारको आलोचना भइरहेको छ । सरकारले न्याय दिनुको सट्टा पीडितलाई नै यातना दिएर ठूलो गल्ती गरेको महोत्तरीका एमाले नेता शंकर महतोले बताए । उनले भने, ‘पीडितहरू कष्ट सहेर राजधानीमा आन्दोलनरत छन् । त्यो आन्दोलनलाई सरकारले सम्बोधन गर्नुको सट्टा दमन गर्न खोज्नु गल्ती हो ।’

    प्रहरीले भने सोमाबार विशिष्ट विदेशी पाहुनाको सवारी रहेको र माइतीघर मण्डला हुँदै रूट तोकिएकाले मिटरब्याजीविरूद्धको आन्दोलनकारीलाई हटाउनु परेको बताएको छ । त्यसदिन धर्नामा नजान आग्रह गरेपनि आन्दोलितले नमानेपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ ।

    मिटरब्याजीबाट पीडित हुनेमा गरिबी, अशिक्षा, बेरोजगारी र अपर्झट आइपर्ने समस्यामा साहुसँग ऋण माग्न जानेहरू परेका छन् । मौका छोपेर मिटरब्याजीले घरबासै उठाउने गरेका छन् ।

    meterbyajpidit.jpg

    नवलपरासीका पीडित प्रेमनारायण कोइरीका अनुसार साहुकारले घरायसी तमसुक, दृष्टिबन्धक, आभूषण बन्धक, घरजग्गा रजिष्ट्रेसन गराई चौगुणा तमसुक बनाएर ऋण दिन्छन् अनि अनुचित ब्याज असुल्छन् । धेरैले त लगानी असुलेर पनि तमसुक च्यात्यात्दैनन् । धित्तोको जग्गा फिर्ता गर्दैनन् । त्यही प्रमाणको आधारमा केही दिनपछि साहुहरूले मुद्दा हालेर जग्गा हडप्ने र पीडितलाई जेल पठाउने प्रवृत्ति बढेको छ ।

    मिटरब्याजीविरूद्ध भदौ २७ गतेसम्म देशैभरीबाट २ हजार २ सय ८९ उजुरी दर्ता भएको प्रतिवेदन सरकारद्वारा गठित कार्यदलले सार्वजनिक गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology