Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोरोना महामारीले थलिएका उद्यानहरूको अवस्थामा सुधार आएन

कोरोना महामारीले थलिएका उद्यानहरूको अवस्थामा सुधार आएन

  • 359
    SHARES
  • कोरोना महामारीले थलिएका उद्यानहरूको अवस्थामा सुधार आएन

    धनकुटा । कोरोना महामारीसँगै थलिएर सुनसान बनेका धनकुटा नगपालिकाका एक दर्जन बढी पार्क (उद्यान) को अवस्थामा अझै सुधार आउन सकेको छैन् । लाखौं खर्चेर बनेका ती पार्क अहिले आन्तरिक पर्यटकसमेत नआएर सुनसान बनेका हुन् ।

    धनकुटा नगरपालिकाको मुख्य पर्यटकीयस्थलका रूपमा रहेको वडा नं-७ को चुलिवन पार्कमा बनेको भ्यूटावर चढ्न फाट्टफुट्ट आन्तरिक पर्यटक आए पनि चहलपहल बढ्न सकेको छैन् ।

    २०७५ बाट सो स्थानमा निजी ३५ लाख खर्चेर मिनीमेला तथा पार्क सञ्चालन गर्दै आएका रामकुमार राई र उनकी श्रीमती सीमा थापा (राई) अहिले व्यवसायमा घाटा लागेको बताउँछन् ।

    स्थानीय सामुदायिक वनलाई वार्षिक नाफाको २० प्रतिशत रकम दिने शर्तमा रोटेपिङ, बालबालिकाका लागि खेल तथा क्यान्टिन सञ्चालनमा लगानी गरेका उनीहरूले वार्षिक ५० हजार पनि आम्दानी नहुने बताए ।

    ‘घाटैघाटा छ, ऋणको ब्याज तिर्दा-तिर्दा भएको जायजेथासमेत सकिन लाग्यो’, थापाले भने, ‘पिङ बेचौँभन्दा पनि बिक्दैन, अब के गर्ने होला, तनावमा छौं ।’ आफूहरूले काम सुरु गर्ने बित्तिकै कोरोना सुरु भएकाले आफूहरू ठूलो मर्कामा परेको श्रीमान् राईले चिन्ता व्यक्त गरिन् ।

    २०६३ बाट गत वर्षसम्म नगरले १ करोड ३६ लाख खर्च गरेको यस स्थानमा मात्र होइन अन्य स्थानका पार्कहरूको अवस्था पनि उस्तै छ । धनकुटा नगरपालिका-१ जौटारमा बनेको वनभोज पार्क कोरोनाको मारसँगै बाटोघाटोको असुविधाका कारण सुनसान रहेको पूर्ववडाध्यक्ष नीरन तामाङले जानकारी दिए ।

    यो पार्क २०७४ सालमा प्रदेश नं-१, जिल्ला वन कार्यालय र पाख्रिबास नगरपालिकाको १०/१० लाख गरी जम्मा ३० लाखको लागतमा निर्माण गरिएको थियो ।

    त्यस्तै सोही वडाको व्यापारिक केन्द्र हिलेबजार नजिक निर्मित पर्यटन मन्त्रालयको १० लाख र धनकुटा नगरपालिकाको ३८ लाख लागतमा निर्मित बक्रकुड मन्दिर तथा पार्क पनि धार्मिक तिथिबाहेक अन्य समयमा ठप्प छ ।

    ‘पहिला त निकै मान्छे पो आउँथे त, कोरोनापछि ठप्पै पो बन्यो भन्या ’, बक्रकुड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले भने । धनकुटा नगपालिका वडा नं-३ कागतेमा प्रदेश सरकारको ३० लाख लगानीमा निर्मित बाल उद्यान पनि सुनसान जस्तै छ ।

    पार्कहरू सुनसान हुनुमा कोरोना मात्र कारक नभएर नगरको सडक सञ्जाल तथा व्यापारिक गतिविधिमा सुधार नभएर पनि यस क्षेत्रका पर्यटकीय क्षेत्र प्रभावित भएको वडाध्यक्ष विकास घिमिरेले बताए ।

    नगर र गाउँ आवतजावत गर्ने सडकको स्तरोन्नति नहुनु, नगरमा निजी लगानीकर्ता आकर्षित हुन नसकेर व्यापार व्यवसायमा मन्दी आएसँगै पर्यटन क्षेत्र पनि प्रभावित भएको घिमिरेको भनाई छ ।

    विज्ञहरूको योजना र अनुसन्धानबाट भन्दा पनि जनताका स्वेच्छिक धारणाबाट पर्यटकीय क्षेत्र बनेकाले लगानीअनुसारको प्रतिफल नआएको हिले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए ।

    ‘काम गर्दा कसैले परामर्श गर्दैनन् । करोडौं खर्चेर बनेका पर्यटकीय क्षेत्रबाट कुनै आम्दानी छैन्’, विष्टले भने । नागरिकका माग इन्कार गर्न नसकेर जताततै बनेका पार्क तथा पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रवर्द्धन गर्न कठिनाइ हुँदा समस्या आएको धनकुटा नगपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij