वेबटिभी खबर
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुंगासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो ।
यसैगरी रुप्से झरनाको शिरको डाडामा सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए ।
रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको शसर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा २० लाख विनियोजन गरेको थियो ।
अनुदान बाहेक थप दुई लाख १९ हजार चार सय ७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताए । काभ्रे गाउँको बेनी-जोमसोम सडकदेखि रुप्से झरना हुँदै बाजाढुंगा जोड्ने उकालो बाटोमा ढुंगाको सिढीको करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ ।
उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ ४०० मिटर रेलिङ राखिएको छ । पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुंगा भएको गुफासम्म पुग्न सकिन्छ ।
यसअघि बाजाढुंगा सम्म पुग्ने साँघुरो र जोखिमयुक्त बाटो पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुंगाका चुचुरा हेर्दा पञ्चेबाजाका आकृति देखिन्छन् ।
यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुंगामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कने गर्छ । ढुंगाको अलौकिक कला र संगित आश्चर्यजनक छ ।
छङछङ गर्दै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुंगाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङखसमेतलाई अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँदेखि ३० मिनेट पैदल हिडेपनि बाजाढुंगा पुग्न सकिन्छ ।
यस ढुंगाको नजीक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रको एकिकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताए ।
धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुंगा नजीकको दूरीमा छन् ।
तीन वटै पर्यटकीय स्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्वारमा जानकारीमुलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से संगम युवा क्लवका अध्यक्ष सुनिल पाईजाले जानकारी दिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij