Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

निगमले तिर्‍यो कोषलाई ७३ करोड

निगमले तिर्‍यो कोषलाई ७३ करोड

  • 332
    SHARES
  • निगमले तिर्‍यो कोषलाई ७३ करोड

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ ।

    निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते ७३ करोड ९ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका सह-प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।

    निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज बापतको ५३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ ।

    त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता बापतको २० करोड किस्ता बापतको रकम भुक्तानी गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    निगमले यसअघि गत आसार ३० गते दुबै कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको एक अर्ब ३५ करोड भुक्तानी गरिएको जनाएको छ । पछिल्ला दिनमा नियमित उडान, अकुपेन्सी दरमा सुधार आई आम्दानीमा वृद्धि भएको निगमले नियमितरुपमा ऋण दायित्वको भुक्तानी गर्न सफल भएको सह-प्रवक्ता घिमिरेले बताए ।

    उनले अन्तरराष्ट्रिय उडानका चारवटै जहाज पूर्णक्षमतामा नियमित उडान भइरहेकाले निगमको आम्दानीमा सुधार आएको जानकारी दिए । निगमले वाइड बडी ए-३३० र न्यारोबडी ए-३२० जहाज खरिदका दुबै चरणमा गरेर करिब ३७ अर्ब ऋण लिएको थियो । सावा र ब्याज बढेर भुक्तानी दायित्व झण्डै ४५ अर्ब पुगेको बताइन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij