वेबटिभी खबर
कैलाली । कैलालीको लम्कीचुहा-१ को कार्यालयले वडाअन्तर्गतका ११ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ।
स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै उनीहरूको सम्मानस्वरुप साइकल वितण गरिएको लम्कीचुहा नगरपालिकका वडाध्यक्ष नेत्रप्रसाद खनालले बताए ।
गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड-१९ को महमारी र हाल डेंगु नियन्त्रणको लागि गाउँघर र टोल-टोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुने उनको भनाइ थियो ।
लम्कीचुहा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षिक तप्त भण्डारीले स्वास्थका आधारस्तम्भ भनेको नै महिला स्वास्थ्य स्वयंसेविका भएको बताए । मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका नेपालमा महिला स्वास्थ्य स्वयंसेविकाको रहेको उनले जानकारी दिए ।
दिनरात नभनी आफ्नो सेवामा निरन्तर लागि रहेका स्वास्थ्य स्वयंसेविका वडा कार्यालयबाट साइकल पाएपछि खुसी भएका छन् । वडा नम्बर १ अन्तर्गतका ११ स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को बजेटबाट एक लाख २६ हजार बराबरको साइकल खरिद गरी वितरण गरेको थियो ।
साइकल पाएपछि स्वास्थ्य स्वयंसेविकाको संयोजक पार्वती बजगाईले वडा कार्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा आफूहरूको मनोबल बढाउने कार्यक्रम गर्न आग्रह गरिन् । दश वटा वडा रहेको उक्त नगरपालिकामा ९१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij